अभिलाष गुप्ता
जेष्ठ ०३ बिरगंज
शिक्षकलाई प्रिविलेज कार्ड हस्तान्तरणदेखि वित्तीय साक्षरता कार्यक्रमसम्म उल्लेखनीय सहभागिता।
लायन्स क्लब बीरगंज सेंट्रल सिटी र लायन्स क्लब बीरगंज प्रभुको संयुक्त आयोजनामा एकैदिन विविध सामाजिक र शैक्षिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्।
कार्यक्रमहरूको नेतृत्व लायन्स क्लब बीरगंज सेंट्रल सिटीका अध्यक्ष डा. लक्ष्मी थापाको सभापतित्वमा गरिएको थियो। बीरगंजस्थित नवदीप एकेडेमी स्कुलको प्राङ्गणमा आयोजित विशेष समारोहमा सो विद्यालयका ३० जना शिक्षिकाहरूलाई लायन्स प्रिविलेज कार्ड हस्तान्तरण गरिएको हो।

प्रिविलेज कार्ड प्राप्त गर्ने शिक्षिकाहरू तथा उनीहरूका परिवारजनले प्रभु अस्पतालमा उपचार सेवामा १५ प्रतिशत तथा औषधिमा १० प्रतिशत छुट पाउनेछन्। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट 325 एस
का उपगर्भनर आर. बी. पाण्डे, जोन चियरपर्सन संजीता प्याकुरेल, लायन्स क्लब प्रभुका अध्यक्ष दिगम्बर प्रसाद, समाजसेवी सुशीला साह, देवन्ती साह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसै सन्दर्भमा दुबई लायन्स क्लबहरूसँगको सहकार्य र प्रभु बैंक सिमरा शाखाका चन्दन गुप्ताको सहलगानीमा पोखरिया नगरपालिका–८, जगतपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागिता गराइएको थियो।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबहादुर चौहान, समाजसेवी भूषण गुप्ता, स्थानीय लायन्स सदस्य तथा शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको निरन्तरताअन्तर्गत बीरगंज पावर हाउस चौकस्थित ज्ञान वाटिका इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ४० जना नर्सिङ्ग छात्राहरूलाई पनि प्रभु बैंक आदर्शनगर शाखाको सहकार्यमा वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ।
यस कार्यक्रममा क्याम्पस प्रमुख सरिता सिंह, नर्सिङ्ग को–अर्डिनेटर प्रियंका रॉय, सबीना सैजु, प्रभु बैंकका प्रशिक्षकहरूको सक्रिय उपस्थिति रह्यो। प्रशिक्षणमा डिजिटल बैंकिङ्ग, बचत, लगानी, सुरक्षित लेनदेनलगायतका विषयमा व्यापक जानकारी प्रदान गरिएको थियो।
लायन्स क्लबले समाजमा स्वास्थ्य, शिक्षा र वित्तीय पहुँच विस्तारमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनहरूमा यस्ता जनकल्याणकारी कार्यक्रमहरूलाई अझ फराकिलो बनाइने क्लब अध्यक्ष डा. लक्ष्मी थापाले जानकारी दिनुभयो।









