अभिलाष गुप्ता
वीरगञ्ज, ज्येष्ठ ४
सेवा कार्य अन्तर्गत तेरापन्थ महिला मण्डल वीरगञ्जले वीरगञ्जस्थित पशुपति शिक्षा मन्दिरलाई चिसो पानीको मेसिन हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत करिब सवा सय विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस सहयोगले गर्मी महिनामा विद्यार्थीलगायत विद्यालयका सम्पूर्ण सदस्यहरूलाई सहजता पुर्याउने विश्वास गरिएको छ।
चिसो पानीको यो मेसिन मण्डलकी अध्यक्ष श्रीमती बबिता खटेड, मन्त्री श्रीमती कुसुम मनौत तथा महिला मण्डलका अन्य सदस्यहरूको उपस्थितिमा विद्यालय परिसरमै पशुपति शिक्षा मन्दिरका अध्यक्ष श्री अशोक कुमार बैदलाई हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष अशोक कुमार बैदले तेरापन्थ महिला मण्डलप्रति आभार प्रकट गर्दै विद्यालयप्रति देखाइएको समर्पण र सेवाभावको प्रशंसा गरे। उनले भने, “यस प्रकारको सहयोगले शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य र सुविधा दुवैमा सकारात्मक प्रभाव पार्नेछ।”
तेरापन्थ महिला मण्डल वीरगञ्जले विगतदेखि नै विविध सामाजिक तथा शैक्षिक सेवाका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ।









