चितवन, नेपाल
सामाजिक उत्तरदायित्व अन्तर्गत इनर व्हिल क्लब भरतपुर चितवनले ‘हाम्रो घर’ संस्थालाई छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गरेको छ। चितवनमा अवस्थित ‘हाम्रो घर’ संस्थामा आयोजित एक विशेष कार्यक्रमका अवसरमा क्लबले संस्थाकी अध्यक्ष मीना खरेललाई रु. १०,००० (दस हजार रुपैयाँ) छात्रवृत्तिका लागि हस्तान्तरण गरेको हो।
‘हाम्रो घर’ संस्था सडक, असहाय तथा पीडित बालबालिकाको संरक्षण, शिक्षा तथा पुनःस्थापना कार्यमा समर्पित सामाजिक संस्था हो। कार्यक्रममा क्लबकी सदस्य लक्ष्मी श्रेष्ठले बालबालिकाका लागि अतिरिक्त आर्थिक सहयोग, सरला पियाले बिस्कुट, र विमला अर्याल अधिकारीले चना–भुजा लगायतका खाद्य सामग्री हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, स्थानीय समाजसेवी, महिला तथा पुरुष समुदाय, ‘हाम्रो घर’ का कर्मचारी, सेवाग्राही बालबालिका तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले सामाजिक संस्थाहरूको स्थायित्वका लागि यस्ता सहयोगले प्रेरणा दिने बताएका थिए। ‘हाम्रो घर’ संस्थाकी अध्यक्ष मीना खरेलले क्लबप्रति आभार व्यक्त गर्दै समाजमा सेवा भावले गर्दा अझ धेरै बालबालिकाको जीवन उज्यालो बनाउने विश्वास व्यक्त गरिन्।
इनर व्हिल क्लब भरतपुरले विगतदेखि नै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, बालबालिका तथा समुदायमा विभिन्न सामाजिक कार्यक्रममार्फत उल्लेखनीय योगदान दिँदै आएको छ। क्लबले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









