अभिलाष गुप्ता
वीरगञ्ज, ६ जेष्ठ
भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड सशस्त्र प्रहरीले वीरगञ्ज नाकाबाट बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयाको भकुवा नाका हुँदै ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट बरामद गरेको हो।
भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै ठूलो परिमाणमा लागू औषध नेपाल प्रवेश गर्दैछ भन्ने सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंह को नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका अनुसार सिर्सिया नदी तरेर दुई जना तस्कर टाउकोमा कार्टुन बोकेर नेपालतर्फ आउँदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेपछि उनीहरू लागू औषधसहितको कार्टुन फ्याँकेर फरार भएका थिए।
सोधपुछका लागि पक्राउ गर्न खोज्दा तस्करहरू अन्धकार र जंगलको आडमा भाग्न सफल भएका हुन्।
कार्टुन खोली हेर्दा प्रतिबन्धित लागू औषध ट्रामाडोलको ८१ हजार ४९० ट्याब्लेट फेला परेको पुष्टि गर्दै डीएसपी सिंहले यसको अनुमानित मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी हुने जानकारी दिएका छन्।
बरामद लागू औषध आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। साथै, घटनामा संलग्न तस्करहरूको पहिचान र पक्राउका लागि अनुसन्धान तथा खोजी कार्य तीव्र रूपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सिमावर्ती क्षेत्रमार्फत लागू औषध तस्करी रोकथाम गर्न सुरक्षा निकायहरू सतर्क बन्दै गएका छन्। यस्ता पदार्थ युवापुस्तामा दुरुपयोग हुने खतरा उच्च भएकाले प्रहरीले आम नागरिक र समुदायलाई पनि सहकार्य गर्न आह्वान गरेको छ।









