अभिलाष गुप्ता
वीरगञ्ज,०६ जेष्ठ
ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र सम्बन्धी विवादले चर्को रुप लिन थालेको छ। आज क्याम्पसमा बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयले छानबिन नगरेमा त्रिभुवन विश्वविद्यालयबाट उच्चस्तरीय छानबिन समिति गठन गराउने सहमति जनाएको छ। यसै सन्दर्भमा केही शाखाहरूमा आंशिक तालाबन्दी गरिएको छ, भने विद्यार्थीको काम प्रभावित नहोस् भनेर आवश्यक सेवा प्रवाह यथावत राख्दै तालाबन्दी खुलाइएको छ।
क्याम्पस प्रमुख रणजीत प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संयुक्त विद्यार्थी संगठनका नेताहरूबीच भएको छलफलबाट उक्त निर्णय गरिएको हो।
बैठकमा सहभागी विद्यार्थी नेताहरूले नक्कली प्रमाणपत्र जस्तो गम्भीर विषयमा तुरुन्त निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै, यसले क्याम्पसको शैक्षिक मर्यादा र विश्वसनीयता माथि प्रश्न उठाएको बताएका छन्। उनीहरूले दोषीलाई सार्वजनिक गरि कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा पन्नालाल महतोसहित विद्यार्थी नेताहरू श्याम प्रसाद गुप्ता, अनिस कुमार पटेल, करण पाण्डे, राजु गुप्ता, मो. सगीर अली लगायतका अन्य नेताहरूको उपस्थिति थियो।
छानबिन प्रक्रिया अघि बढेको अवस्था र विद्यार्थीको नियमित कार्यलाई मध्यनजर गर्दै आन्दोलनलाई जिम्मेवारीपूर्वक सञ्चालन गर्ने प्रतिबद्धता विद्यार्थी नेताहरूले जनाएका छन्।
क्याम्पस प्रशासनले पनि विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै यथाशिघ्र निष्पक्ष छानबिनको वातावरण निर्माण गर्न त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने जनाएको छ।









