वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंस्थित मुस्लिम समुदायको कब्रस्थानमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ।
करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यो संरचनाले कब्रस्थान को सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रम वीरगंज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न को हो
कार्यक्रममा बोल्दै प्रमुख सिंहले वीरगंजलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गरने भन्नुभयो, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रस्थानको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीप्रति महानगरको गम्भीर प्रतिबद्धता हो।”
उहाँले थप भन्नुभयो, “विगतमा खुला अवस्थामा रहेको कब्रस्थानमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिँदै आएको थियो। पर्खाल निर्माणपछि यसको व्यवस्थापन व्यवस्थित हुने विश्वास लिइएको छ। महानगरले धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर यस्ता संरचनात्मक सुधारका कामहरू आगामी दिनमा पनि निरन्तरता दिनेछ।”
शिलान्यास कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्रमुखको प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय मुस्लिम समुदायका अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानिय बासिन्दा तथा समुदायका प्रतिनिधिहरूले महानगरको यस पहललाई स्वागत गर्दै यसले धार्मिक स्थापनाहरूको संरक्षणसँगै सामाजिक एकता र सहकार्यको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।








