आज वीरगञ्ज महानगरपालिका–४, पर्सास्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसको निरीक्षण गरिएको छ । निरीक्षणको क्रममा क्याम्पसमा विद्यमान खानेपानीको समस्याबारे गम्भीर छलफल गरिएको थियो ।
खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा गरिएको निरीक्षणमा हाल सञ्चालनमा रहेको खानेपानीको टंकी जीर्ण अवस्थामा रहेको, टंकी चुइने समस्या देखिएको जनाइएको छ । मन्त्री यादवले चाडै टंकीको मर्मत गर्न या नयाँ टंकी स्थापना गर्न सम्बन्धित निकायको साथमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, नर्सिङ क्याम्पस परिसरभित्रको नाला खुलै रहनु, विर्ता बस्तीतिरको फोहर पानी त्यही नालामा जम्मा हुनुले वातावरण अस्वच्छ हुन पुगेको कुरा पनि सर्वसाधारणको गुनासोमा परेको थियो । यो समस्यालाई मध्यनजर गर्दै नालाहरूको सरसफाइ, व्यवस्थित ढल निकास व्यवस्था सहित दीर्घकालिन समाधानको लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन गरिएको छ ।
क्याम्पसमा अध्ययन, अध्यापन सहित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण अझै बढी सुरक्षित, सफाचट अनि व्यवस्थित बनाउन सबैको साथ, सहयोग अनि समझदारीको भावना सहित अघि बढीने जनाइएको छ ।









