जिल्ला प्रहरी कार्यालय बाराले जेठ २९ गते भएको नन्दु राउत कुर्मी हत्याकाण्डमा संलग्न पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको छ। शुक्रवार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले घटनामा संलग्न रहेका अभियुक्तहरूको परिचय सार्वजनिक गरेका हुन्।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–१४, बघवन टोलस्थित उमेश साहको राइस मिल अगाडि झगडापछि कुटपिट हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय नन्दु राउत कुर्मीको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको थियो।
प्रहरीले मृतकका २६ वर्षीय छोरा दिपेन्द्र पटेलको जाहेरीका आधारमा अनुसन्धान सुरु गर्दै घटनामा संलग्न व्यक्तिहरूमध्ये मुख्य अभियुक्त उमेश जैसवालसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बघवन टोलका उमेश जैसवाल (४० वर्ष)उनकी श्रीमती रञ्जु देवी (३५ वर्ष)छोराहरू अमित जैसवाल (२५ वर्ष), सुमित जैसवाल (२० वर्ष), सुजित कुमार जैसवाल (१८ वर्ष)थप एक व्यक्ति दिगम्बर प्रसाद जैसवाल (३४ वर्ष) रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार मृतक नन्दुले आफ्नी नातिनी र करैयामाई गाउँपालिका–७ निवासी गौतम पासवानबीच भेट गराएका थिए। सो विषयलाई लिएर नन्दुकी श्रीमतीले उमेश जैसवालका कान्छा छोरा सुजित कुमारसँग भनाभन र हातपात गरेकी थिइन्। त्यसैको रिस उठाउँदै उमेश जैसवाल र उनको परिवार मिलमै पुगेर नन्दुलाई ज्यानै जाने गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको हो।
मुख्य अभियुक्त उमेश जैसवाललाई बिश्रामपुर गाउँपालिका–४ स्थित खुदिया टोलबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। अन्य अभियुक्तहरूलाई पनि विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। अभियुक्तहरूलाई कानुनी कारवाही अगाडि बढाइने जनाइएको छ।









