विशेष सूचनाको आधारमा लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित सेन्टर प्वाइन्ट होटलको कोठा नम्बर १०४ बाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको टोलीले कोठामा छापा मार्दा मकवानपुरको हेटौंडा-७ का २० वर्षीय सुकलाल स्याङतान, १८ वर्षीय बिशाल गोले (ठेगाना नखुलेको), र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २१ का २२ वर्षीय सुरेश पाण्डेलाई फेला पारेको थियो।
प्रहरीको अनुसार, उनीहरूको शरीर र होटलको कोठा खानतलासी गर्दा पलङको सिरानीमुनी लुकाएर राखिएको अवस्थामा NAITRAVET ८४ ट्याब्लेट, TRAMAN १० क्याप्सुल, NOOPHIN, PHENERGAN, र DIAZEPAM नामक लागूऔषधहरू एम्पुलसहित फेला परेका थिए।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।









