२०८२ चैत्र १२ गते बिहीबार

लायन्स क्लब अफ संस्कृती गोल्ड बिरगंजको पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स क्लब अफ संस्कृती गोल्ड बिरगंजले नयाँ कार्यसमिति गठनसँगै पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगंजस्थित होटल अम्ब्रेलामा सम्पन्न सो कार्यक्रममा सामाजिक सेवा र नेतृत्वको हस्तान्तरणलाई सम्मानपूर्वक मनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष गौतम मिश्र रहेका थिए भने विशिष्ट अतिथि लायन डिएन अग्रवाल, लायन डा. रमेश कुमार अग्रवाल तथा लायन रामेश्वर प्रसाद गुप्ताको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्लबकी पूर्वअध्यक्ष लायन रितिका जैसवालले गर्नु भएको थियो।

नवगठित कार्यसमितिमा लायन सोनि अग्रवाल अध्यक्ष चयन भएकी छन्। त्यसैगरी, लायन खुशबु अग्रवाल कोषाध्यक्ष र लायन कविता अग्रवाल सचिव पदमा चयन भएका छन्। अन्य सदस्यहरू सर्वसम्मतिमा चयन गरिएको जानकारी दिइएको छ।

उक्त कार्यक्रममा लायन उमेश साह कानु, लायन नरोत्तम पाण्डे, लायन श्याम गुप्ता, लायन बासु तिमलसिनालगायत क्लबका अन्य सदस्यहरू, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अतिथिहरूले नवगठित कार्यसमितिलाई बधाई दिँदै सामाजिक सेवा क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। क्लबले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वमा अग्रसर हुँदै सेवा भावलाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM