२०८३ आश्विन ७ गते बुधबार

जमालपुरमा अन्तर्राष्ट्रिय मिडिया समिट–२०२६ सम्पन्न

 

दक्षिण एसियाका पत्रकार तथा सञ्चारकर्मीबीच संवाद, सहकार्य र अनुभव आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले भारतको बिहारस्थित मुंगेर जिल्लाको जमालपुरमा अन्तर्राष्ट्रिय मिडिया समिट–२०२६ (ग्लोबल मिडिया समिट–२०२६) सम्पन्न भएको छ।

अल इन्डिया जर्नालिस्ट युनियन (एआईजेयू), भारतको आयोजनामा जमालपुरस्थित सिद्धिविनायक म्यारिज हलमा आयोजित सम्मेलनमा भारतीय राज्यसभा सदस्य डा. भीम सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मुंगेरका विधायक प्रणव कुमार विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सम्मेलनको अध्यक्षता अल इन्डिया जर्नालिस्ट युनियन, भारतका राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटले गर्नुभएको थियो। कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाली देशका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सार्क जर्नालिस्ट फोरम इन्टरनेसनलका अध्यक्ष राजु लामा तथा महासचिव अब्दुर रहमानलगायत विभिन्न देशका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भीम सिंहले पत्रकारिता समाजलाई सूचना, विचार र तथ्यसँग जोड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले सञ्चारकर्मीबीच अन्तर्राष्ट्रियस्तरमा सहकार्य र अनुभव आदान–प्रदानले पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

डा. सिंहले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीमा फरक भए पनि पत्रकारहरूको जिम्मेवारी र उद्देश्य समाजलाई सत्य, तथ्य र सही सूचना उपलब्ध गराउनु रहेको बताउनुभयो। दक्षिण एसियाका पत्रकारबीच हुने संवाद र सहकार्यले पत्रकारिता क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो।

त्यसैगरी, सार्क जर्नालिस्ट फोरम इन्टरनेसनलका अध्यक्ष राजु लामाले दक्षिण एसियाली मुलुकका पत्रकारबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जमालपुरमा आयोजित सम्मेलनले विभिन्न देशका पत्रकारलाई एक–अर्काका अनुभव बुझ्ने तथा साझा विषयमा सहकार्य गर्ने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो।

अध्यक्ष लामाले दक्षिण एसियाली पत्रकारबीचको सम्बन्ध समाचार आदान–प्रदानमा मात्र सीमित नराखी पत्रकारको अधिकार, व्यावसायिक सुरक्षा, प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रका साझा चुनौतीका विषयमा समेत सहकार्य आवश्यक रहेको बताउनुभयो। जमालपुर सम्मेलनले यस्ता विषयमा थप संवादका लागि नयाँ वातावरण सिर्जना गरेको उहाँको भनाइ थियो।

सम्मेलनमा सार्क जर्नालिस्ट फोरम नेपाल च्याप्टरका संयोजक रुद्र सुवेदी, सहसंयोजक मोहम्मद आरिफ अन्सारी, बिहार च्याप्टरका अध्यक्ष डा. शशि भूषण कुमार, मधेस च्याप्टरका संयोजक मोहम्मद सदाब मलिक तथा सदस्यहरू रमेशचन्द्र कुमाल, अजमत अली, सुशीलकुमार खड्का, अभिलाष गुप्ता, पवनप्रसाद साह र अरुण कलवारलगायत विभिन्न देशका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा समसामयिक पत्रकारिता तथा सञ्चार क्षेत्रका विषयमा व्यापक छलफल गर्दै सहभागीहरूले आ–आफ्ना देश तथा क्षेत्रका अनुभव आदान–प्रदान गरेका थिए। पत्रकारितामा देखिएका चुनौती, सञ्चार प्रविधिको विकास, पत्रकारको व्यावसायिक सुरक्षा, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियाली सञ्चारकर्मीबीचको सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो।

आयोजकका अनुसार जमालपुरमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलनले दक्षिण एसियाका पत्रकार तथा सञ्चारकर्मीबीच पारस्परिक सम्बन्ध, संवाद र सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण आधार तयार गरेको छ।

सम्मेलनमा सहभागी पत्रकारहरूले विभिन्न देशका सञ्चारकर्मीलाई एउटै साझा मञ्चमा ल्याएर पत्रकारितासँग सम्बन्धित साझा विषयमा विचार आदान–प्रदान गर्ने अवसर प्रदान गरेको बताएका थिए। उनीहरूले आगामी दिनमा दक्षिण एसियाली सञ्चारकर्मीबीच थप प्रभावकारी सहकार्य तथा नियमित संवादका लागि सम्मेलनले मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM