मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका–१ का १८ वर्षीय प्रणय गुप्ता शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपालका अनुसार, शनिबार साँझ उनको शव खोलाकै झरनाको खोँचमा फेला परेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार, गुप्ता शनिबार बिहान काठमाडौँबाट ७ जना साथीहरूसहित ४ वटा मोटरसाइकलमा घुम्नका लागि मार्खु क्षेत्रतर्फ गएका थिए। त्यही क्रममा दिउँसो मार्खु खोलामा पौडी खेल्ने क्रममा उनी एक्कासि बेपत्ता भएका थिए।
घटनाको जानकारी मिल्नेबित्तिकै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा उद्धार टोली खटिएको थियो। अन्य सुरक्षा निकायको सहयोगमा गरिएको खोजी कार्यपछि शनिबार साँझ उनको शव खोलाकै झरनाको खोँचमा फेला परेको डिएसपी थापाले जानकारी दिए।
मनसुनको समयमा नदी तथा खोलाहरूमा पानीको बहाव अप्रत्याशित रूपमा बढ्ने भएकाले पौडी खेल्दा ठूलो जोखिम हुने विज्ञहरू बताउँछन्। विशेषगरी अनजान स्थानहरूमा पानीको गहिराइ, बहाव र भित्री बनावटबारे जानकारी नहुँदा यस्ता दुर्घटनाको सम्भावना झनै बढ्ने गरेको छ।
यो दुःखद घटनाले जलस्रोत नजिक घुमघाम गर्नेहरूका लागि गम्भीर सावधानी आवश्यक भएको सन्देश दिएको छ। मनसुन अवधिभर नदी, खोला र ताल किनारमा जानुहुँदा वा पौडी खेल्दा उच्च सतर्कता अपनाउन विज्ञ तथा सुरक्षाकर्मीहरूले सुझाव दिएका छन्। साथै, अभिभावक र साथीभाइहरूले पनि युवाहरूलाई यस्ता जोखिमपूर्ण कार्यहरूबाट जोगाउन सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ।









