२०८३ बैशाख २८ गते सोमबार

आर्केष्ट्रामा बन्धक बनाइएका नेपालका तिन युवती र एक युवकको उद्धार

 

अभिलाष गुप्ता
बैशाख १५ बिरगंज

भारतको एक आर्केष्ट्रामा कष्टकर जीवन बिताइरहेका चार नेपाली युवा युवतीको उद्धार गरिएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृह र पर्सा प्रहरीको संयुक्त टोलीले उनीहरुलाई शनिबार उद्धार गरी स्वदेश फिर्ता ल्याएको हो ।

फिर्ता ल्याइएकाहरूमा तीन युवती र एक युवक छन् । भारतको बिहार मोतिहारी जिल्ला छौडादानो थाना अन्तर्गत कठनौतिया मठस्थित जानकी म्युजिकल आर्केष्ट्रा ग्रुपबाट उनीहरूलाई उद्धार गरी स्वदेश फिर्ता ल्याइएको हो ।

माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख गोमा पौडेलका अनुसार, माइती नेपाल केन्द्रीय कार्यालयले दिल्लीस्थित नेपाली दुतावाससंगको समन्वयमा उक्त आर्केष्ट्रामा रहेकी नुवाकोटकी एक १८ वर्षीया युवतीको उद्धारको पहल गरेको थियो । उनी एक महिना अघि त्यहाँ पुगेकी थिइन् ।

आफू नारकीय जीवन भोगी रहेको सूचनासहित ती युवतीले उद्धारका लागि आग्रह गरेपछि माइती नेपालले उनको उद्धारको अग्रसरता देखाएको हो । नेपालबाट उद्धार टोली पुग्दा त्यहा ती युवती मात्र नभई थप २ नेपाली युवती र अर्का एक नेपाली युवकले समेत आफूहरूलाई यातना दिएर जबरजस्ती राखिएकाले उद्धारका लागि आग्रह गरेपछि चारै जनालाई उद्धार गरी शनिबार राति वीरगन्ज ल्याइएको हो ।

उद्धार गरिएका अन्यमा चितवनका २१ र २२ वर्षीया दुई युवती छन् भने सिरहाका २५ वर्षीय एक युवक छन् । २२ वर्षीया चितवनकी युवती दुई साताअघि र २१ वर्षीया युवती तथा २५ वर्षीय युवक भने १ महिना अघि भारत पुगेका थिए।

उक्त अर्केष्टाका सन्चालक भारतीय नागरिक टिंकु र उनकी पत्नी जानकी जैसवाल हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM