अभिलाष गुप्ता
बैशाख १९ बिरगंज
वीरगन्ज, पर्सा – कृषि ज्ञान केन्द्र, पर्साले आयोजनामा गरिएको “धान, गहुँ, तरकारी तथा उखु बालीहरूको लाभ–लागत विश्लेषण” विषयक एक दिवसीय कार्यशाला गोष्ठी होटल मकालु, वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ।
कार्यशालाको अध्यक्षता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्री जनार्दन सिंह क्षेत्री रहनुभएको थियो।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग, जनकपुरधामका सदस्य श्री राज कुमार सिंह, जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कृषि अनुसन्धान निर्देशनालयका निर्देशक डा. विश्वेश्वर प्रसाद यादव, तथा कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादव विशेष अतिथि रहनुभएको थियो।
कार्यशालामा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री श्री क्षेत्रीले प्रदेशको समग्र कृषि प्रणालीमा लागत र आम्दानीबीचको सन्तुलन कायम गर्न यस्ता अध्ययनमूलक कार्यशालाहरूको विशेष भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले कृषकहरूको आय वृद्धि र समृद्धिको मार्ग प्रशस्त गर्न वैज्ञानिक विधिबाट बालीहरूको विश्लेषण अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सचिव डा. उमेश दाहालले नीतिगत तहमा आधारित निर्णयहरू गर्न यस्ता तथ्यपरक कार्यशालाबाट प्राप्त निष्कर्षहरू अत्यन्तै उपयोगी हुने बताउनु भयो। उहाँले प्रदेशभरि यस्ता कार्यक्रमहरूलाई विस्तार गर्न मन्त्रालय प्रतिवद्ध रहेको समेत जनाउनुभयो।
कार्यशालामा कृषि विज्ञहरू, प्राविधिकहरू, स्थानीय कृषक प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चार प्रमुख बालीहरू – धान, गहुँ, तरकारी र उखुको उत्पादन लागत, आम्दानी, बजार मूल्य, नीतिगत चुनौतीहरू तथा भविष्यको सम्भावनाहरू विषयमा प्रस्तुति दिएका थिए।
कृषि ज्ञान केन्द्र, पर्साका अनुसार कार्यशालाबाट प्राप्त सुझावहरूलाई समेट्दै आगामी नीति निर्माण तथा कार्यक्रम योजनामा समावेश गरिनेछ।









