अभिलाष गुप्ता
बिरगंज २८ बैशाख
भीषण गर्मीको समयमा सर्वसाधारण र यात्रुहरूलाई राहत पुर्याउने उद्देश्यले बिरगंजमा शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले सञ्चालन गरेको गुल्कोजयुक्त चिसो पिउने पानी वितरण कार्यक्रम आइतबार दोस्रो दिन सम्पन्न भएको छ।
बिहान ११ बजेबाट बिरगंजको मुख्य व्यस्त स्थल घन्टाघर चौकमा आयोजना गरिएको कार्यक्रममा साउथजोन स्कुलका विद्यार्थीहरूले सक्रिय सहयोग पुर्याएका थिए।
कार्यक्रममा पब्सन पर्साका अध्यक्ष सरोज चौधरीको विशेष उपस्थिति रहँदा, प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालले कार्यक्रमको अध्यक्षता गर्नुभयो।

प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, सचिव लाल बाबु सिंह, सहसचिव अजित भुजेल, सदस्यहरू जय कुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालको स्मृतिमा सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा जनहितका कार्यक्रमहरू गर्दै आइरहेको जानकारी दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएको छ।
यस कार्यक्रमबाट विशेष गरी घन्टाघर क्षेत्र हुँदै यात्रा गर्ने पैदलयात्री, सवारी चालक तथा स्थानीय सर्वसाधारणले तत्कालीन राहत अनुभव गरेका छन्।

















