२०८२ मंसिर २६ गते शुक्रबार

हज यात्राका लागि त्रिभुवन विमानस्थलमा बिदाई समारोह सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज, ८ जेठ

इस्लाम धर्मका पाँच प्रमुख स्तम्भमध्ये एक हजको कर्तव्य पूरा गर्न आज बिरगंजबाट १४० जना मुस्लिम श्रद्धालुहरू साउदी अरेबियाको मक्का र मदिनातर्फ प्रस्थान गरेका छन्। उप प्रमुख इम्तियाज आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर ती हजयात्रीलाई फूलमाला र गम्छा लगाइ सम्मानित गर्दै भावुक बिदाई गरे।

उप प्रमुख आलमले हजयात्रीसँग भेटघाट गर्दै उनीहरूको पवित्र यात्रा सफल, सुरक्षित र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरे। उहाँले भने, “हज केवल धार्मिक कर्तव्य मात्र होइन, आत्मिक शुद्धिकरण र मानवता प्रतीक पनि हो। हामी तपाईंहरूको पवित्र यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछौं।”

यस वर्ष नेपालबाट १,१७१ जना हजयात्री मक्का र मदिनामा हज गर्न प्रस्थान गरेका छन्। नेपालका विभिन्न जिल्लाबाट सिफारिस भएका ती श्रद्धालुहरू जिल्ला हज समितिका माध्यमबाट केन्द्रीय हज समितिको कोटाअनुसार छनोट भएका हुन्।

साउदी अरेबियाले यस वर्ष हजयात्रिका लागि कडा सुरक्षा व्यवस्था र नयाँ नियमहरू लागू गरेको छ। नुसुक कार्ड प्रणालीमार्फत हजयात्रीहरूको निगरानी र व्यवस्थापन गरिनेछ, जसले तीर्थयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ।

बिरगंज महानगरपालिका वडा नं. २ का अध्यक्ष रेयाज मिया, नेपाली कांग्रेस वडा नं. २ का बुथ सभापति फिरोज आलम लगायतका स्थानीय नेताहरू पनि उक्त बिदाई कार्यक्रममा सहभागी थिए।

हज इस्लाम धर्मका पाँच प्रमुख स्तम्भमध्ये एक हो र शारीरिक तथा आर्थिक रूपमा सक्षम प्रत्येक मुसलमानले आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्नुपर्ने अनिवार्य कर्तव्य हो।

नेपाल सरकार र स्थानीय निकायहरूले हजयात्राका लागि आवश्यक व्यवस्थापन र सहयोग गर्दै आएका छन्, जसले मुस्लिम समुदायका सदस्यहरूको धार्मिक कर्तव्य पूरा गर्न मद्दत पुर्याउँछ।

हजयात्रिका क्रममा हजयात्रीहरूले मक्का र मदिनामा विशेष नमाज र धार्मिक क्रियाकलापहरूमा सहभागी हुने गर्दछन्, जसले उनीहरूको आस्थामा गहिराई र आध्यात्मिक उन्नति ल्याउँछ।

हजयात्रा सकाएर ती हजयात्रीहरू ३४ दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको छ।

यस वर्षको हजयात्रा नेपाली मुस्लिम समुदायका लागि धार्मिक आस्था र एकताको प्रतीक बन्न सफल भएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM