२०८२ मंसिर २६ गते शुक्रबार

मनोज ग्यास उद्योगद्वारा विद्यालयलाई आर्थिक सहयोग, निजी शिक्षकको पारिश्रमिक जुटाउँदै

 

अभिलाष गुप्ता
पर्सा,०८ जेष्ठ 

मनोज ग्यास उद्योग प्रालिले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, सुखचैनालाई एक लाख ४४ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयमा कार्यरत एक निजी स्रोत शिक्षकको पारिश्रमिक व्यवस्थापन गर्न सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो। ग्यास उद्योगका प्रोपराइटर उद्योगपति मनोज कुमार दासले विद्यालयका प्रधानाध्यापक मनोजप्रसाद चौहानलाई चेक हस्तान्तरण गरेका हुन्।

विद्यालयमा आयोजित कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक चौहानले गरेका थिए भने वडा अध्यक्ष राधाकृष्ण रौनियार र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितेन्द्रप्रसाद कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज यादव, स्थानीय अभिभावक, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उद्योगपति दासले शिक्षा क्षेत्रलाई निजी तहबाट सघाउने उद्देश्यले यसप्रकारको सहयोग गरिएको बताए। “शिक्षक शिक्षाको मेरुदण्ड हुन्, र योग्य शिक्षकको निरन्तरताले मात्र विद्यार्थीको भविष्य उज्यालो हुन्छ,” उनले भने।

विद्यालयका सह–प्रधानाध्यापक सुनिल कुमार झाले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए।

विद्यालय व्यवस्थापन समितिले मनोज ग्यास उद्योगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा प्रवर्द्धनमा यस्तो सहयोग प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM