वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित र लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारहरूका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले यसको व्यवस्थापनका लागि अग्रसरता देखाएको छ।
नगरको द्रुत विस्तार र संरचना मर्मतका क्रममा उत्पन्न मलबाहरू हटाउन परेको कठिनाइ तथा विशेष गरी गर्मी मौसममा हुन सक्ने आगलागीको उच्च जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई छलफलका लागि बोलाएको हो। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको चासो बमोजिम महानगरले तारको व्यवस्थापन, मर्मत तथा सहरी सौन्दर्यीकरणका लागि पहल थालेको हो।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा द्वारा जारी सूचनाअनुसार वीरगञ्ज क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई यही साउन २२ गते बिहान ११:०० बजे महानगरपालिकाको बैठक हलमा अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ।
तोकिएको बैठकमा अनुपस्थित हुने कम्पनीहरूलाई असहयोगी मानिने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति तथा परिणामको जिम्मेवार सम्बन्धित कम्पनी स्वयं हुनुपर्ने चेतावनीसमेत महानगरले दिएको छ।
























