२०८३ श्रावण २७ गते बुधबार

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वीरगञ्ज इकाई समिति द्वारा आकस्मिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वीरगञ्ज नगर इकाई समिति र रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा आकस्मिक वक्तृत्वकला प्रतियोगिता (Impromptu Speech Competition) सम्पन्न भएको छ।

वीरगञ्जस्थित बीपीसी कलेजको अडिटोरियम हलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले दिइएको विषयमा तत्काल आफ्नो विचार प्रस्तुत गर्दै आत्मविश्वास, तर्कशक्ति, अभिव्यक्ति क्षमता, सिर्जनशील सोच तथा नेतृत्व कौशल प्रदर्शन गरेका थिए।

कार्यक्रमका संयोजक रोशन गुप्ता रहेका थिए। प्रतियोगितामा विभिन्न कलेजबाट सहभागी विद्यार्थीमध्ये ओम नेशनल कलेजकी निकिता यादव प्रथम, बीपीसी कलेजकी गीताञ्जली मिश्रा द्वितीय र बीपीएस कलेजकी सुधाञ्जली मेहता तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगिताको निर्णायक मण्डलमा दिपेश कर्ण, रेणुका गिरी र दिपेन्द्र कानु रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको विषयवस्तु प्रस्तुत गर्ने शैली, तर्क, अभिव्यक्ति, समय व्यवस्थापन तथा समग्र प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका डिन अनञ्जय मिश्रा रहेका थिए। कार्यक्रमको अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय उपाध्यक्ष श्रीमती लक्ष्मी कर्ण दत्ताले गरेकी थिइन्।

कार्यक्रममा वक्ताहरूले युवाहरू राष्ट्र निर्माणका महत्वपूर्ण आधार भएकाले उनीहरूको क्षमता, प्रतिभा, सिर्जनशीलता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्दा उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि हुने आयोजकहरूको विश्वास छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत युवाहरूलाई एउटै मञ्चमा जोड्दै विचार आदानप्रदान, अभिव्यक्ति स्वतन्त्रता, आत्मविश्वास र नेतृत्व विकासको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

युवाहरूको प्रतिभा र सम्भावनालाई उजागर गर्दै उनीहरूलाई समाज तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM