अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।
‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमअन्तर्गत बुधबार वीरगञ्जमा युवा र्याली निकालिएको थियो। र्यालीपछि विभिन्न क्षेत्रका प्रेरणादायी वक्ताहरूको प्रस्तुति, अन्तरक्रियात्मक सत्र तथा सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ सहितको मुख्य कार्यक्रम सम्पन्न भएको हो।
एनवाइइएफ वीरगञ्ज च्याप्टर र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा निकालिएको युवा र्याली माइस्थान चोकस्थित गहवा माई मन्दिर अगाडिबाट सुरु भएको थियो। र्याली गीतामन्दिर हुँदै घडिअर्वा पोखरी पुगेपछि मुख्य सडक हुँदै वीरगञ्जस्थित सरोवर पोर्टिको होटलमा पुगेर सम्पन्न भएको थियो।
र्यालीमा सहभागी युवाहरूले विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए। ‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने नाराका साथ निकालिएको र्यालीले युवालाई लागुऔषधको दुव्र्यसनबाट टाढा राख्दै सकारात्मक सोच, शिक्षा, सिर्जनशीलता र भविष्य निर्माणतर्फ अग्रसर हुन आह्वान गरेको थियो।
र्यालीपछि सरोवर पोर्टिको होटलमा आयोजित मुख्य कार्यक्रम एनवाइइएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय मनिष झा रहेका थिए।
कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, डा. नीरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगपति गणेश लाठ, डा. सुबोध गुप्ता, युवा नेता सुधीर पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, भारतीय दूतावास वीरगञ्जका मनिष सिंह, एनवाइइएफका कार्यकारी सदस्य पवित्रा गौतम, होप गिभर नेपालका संस्थापक रोमन गुरुङ, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईंलगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वीरगञ्जका सनलाइट कलेज, ममता विद्यामन्दिर, वीरगञ्ज पब्लिक कलेज, ब्राइट प्लस टु कलेज, बीपीएस कलेजलगायत विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा युवाको नेतृत्व विकास, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनका विषयमा विभिन्न वक्ताहरूले आफ्ना धारणा राखेका थिए। युवाहरूलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउँदै सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
यसै अवसरमा आयोजना गरिएको सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ मा पाँच जना सहभागीमध्ये कन्हैया सराफ विजेता बनेका छन्। विजेता सराफलाई नगद ५ हजार १ सय रुपैयाँ, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले वीरगञ्जका युवाहरूलाई लागुऔषधविरुद्ध सचेतना, सामाजिक जिम्मेवारी, नेतृत्व, उद्यमशीलता तथा सिर्जनात्मक गतिविधिसँग जोड्दै सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने मूल सन्देशसहितको अभियानले युवालाई कुलतबाट जोगाउँदै उनीहरूको क्षमता, प्रतिभा र ऊर्जालाई समाज निर्माणमा प्रयोग गर्न प्रेरित गरेको छ।कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।
























