“युवा” कुनै निश्चित उमेर समूहमा सीमित शब्द मात्र होइन। परिवर्तनको सोच, भविष्य निर्माण गर्ने दृढ संकल्प, इच्छाशक्ति र सकारात्मक ऊर्जा बोकेको ऊर्जावान शक्ति नै युवा हो। युवाको सोच, सपना र कर्मले नै समाज तथा राष्ट्रको भविष्य निर्धारण गर्दछ।
युवा शक्ति परिवर्तनका संवाहक हुन्। त्यसैले युवाले सुन्दर भविष्यको सपना देख्नुपर्छ र त्यो सपनालाई साकार पार्न स्पष्ट योजना बनाई दृढ इच्छाशक्ति र सामर्थ्यका साथ कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ। युवाहरू कहिल्यै असमर्थ र निराश हुनुहुँदैन। चुनौती र असफलतालाई यात्राको अन्त्य नभई सिकाइको अवसरका रूपमा लिएर निरन्तर अघि बढ्नुपर्छ।
संसार बदल्न सक्ने शक्ति र सामर्थ्य युवामा हुन्छ। जुन देशले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र प्रतिभालाई समयमै पहिचान गरी राष्ट्र निर्माणमा सदुपयोग गर्न सके, त्यही देश आज विकसित र समृद्ध राष्ट्रका रूपमा विश्वमा स्थापित भएका छन्। युवालाई अवसर, उचित मार्गदर्शन र जिम्मेवारी प्रदान गर्दा उनीहरू परिवर्तनका प्रभावकारी संवाहक बन्न सक्छन्।
तर हाम्रो सन्दर्भमा विगतका राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण युवाको ऊर्जावान शक्ति र क्षमतालाई समयमै पहिचान गरी राष्ट्र निर्माणमा प्रभावकारी रूपमा सदुपयोग गर्न नसकिएको अवस्था छ। यसको परिणामस्वरूप ठूलो युवा जनशक्ति अवसरको खोजीमा विदेशिन बाध्य भएको छ। अब विगतका कमजोरीबाट पाठ सिक्दै युवालाई देशमै अवसर सिर्जना गर्ने, उनीहरूको सीप र क्षमतालाई सम्मान गर्ने तथा राष्ट्र निर्माणमा सहभागी गराउने वातावरण निर्माण गर्न आवश्यक छ।
त्यसैले म भन्न चाहन्छु—युवाहरूले सपना देखून्, ठूला लक्ष्य निर्धारण गरून् र ती लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गरून्। असफलताबाट सिक्दै, चुनौतीसँग जुध्दै र हरेक पटक अझ बलियो भएर उठ्दै रचनात्मक सोचका साथ अगाडि बढ्ने पुस्ता निर्माण होस्।
युवा हुनु केवल उमेरले निर्धारण गर्ने विषय होइन; सोच, क्षमता, जिम्मेवारीबोध र सकारात्मक योगदानले युवाको वास्तविक पहिचान निर्माण गर्छ। परिवार, समाज र राष्ट्रलाई सकारात्मक योगदान दिन सक्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को हार्दिक शुभकामना।
युवाको ऊर्जा, सिर्जनशीलता र संकल्पले समृद्ध राष्ट्र निर्माणको बाटो तय गरोस्।
























