ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबे (सिद्धिविनायक ज्योतिष केन्द्र) ले भोली भाद्र १२ गते शुक्रबार (२८ अगस्ट २०२६) पर्ने रक्षाबन्धन पर्वका लागि राखी बाँध्ने मुख्य शुभ साइत तथा समय तालिका सार्वजनिक गर्नुभएको छ।
विश्व ज्योतिष महासंघका एसिया उपसभापति तथा वृहस्पति फाउण्डेसन नेपालका अध्यक्षसमेत रहनुभएका डा. दुबेका अनुसार यस वर्ष रक्षाबन्धनका लागि बिहानको समय सबैभन्दा उत्तम मानिएको छ।
उहाँका अनुसार बिहान ०५:५७ बजेदेखि ०९:४८ बजेसम्म पूर्णिमा तिथि रहने भएकाले यही अवधि राखी बाँध्नका लागि मुख्य तथा अति उत्तम शुभ साइत रहेको छ। बिहानको समय छुटेकाहरूका लागि दिउँसो ०१:४० बजेदेखि साँझ ०४:१५ बजेसम्मको समय पनि उपयुक्त रहने बताइएको छ।
डा. दुबेले शुभ कार्य गर्दा राहुकाललाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बिहान १०:४६ बजेदेखि दिउँसो १२:२२ बजेसम्मको अवधिमा राखी नबाँध्न आग्रह गर्नुभएको छ।
यस वर्ष नेपाल तथा भारतमा कुनै पनि प्रकारको ग्रहण नरहेकाले सबैले निर्धक्क भई शास्त्रोक्त विधिपूर्वक रक्षाबन्धन पर्व मनाउन सक्ने कुरा पनि डा. दुबेले स्पष्ट पार्नुभएको छ।
























