२०८३ भाद्र २६ गते शुक्रबार

पूर्वमन्त्री प्रदीप यादवद्वारा रसुवा, नुवाकोट र धादिङको बाढी–पहिरोप्रति दुःख व्यक्त, उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

 

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहतसँगै पुनर्निर्माणको कामलाई समेत यथाशीघ्र तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।

यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण रसुवामा भएको ठूलो जनधनको क्षति तथा नुवाकोट र धादिङमा समेत अमूल्य जीवन गुमेको, परिवार उजाडिएको र धेरै नागरिक प्रभावित भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन्।

उनले विपत्तिका कारण कसैको घर उजाडिएको, कसैले आफ्ना प्रियजन गुमाएको तथा कोही अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेको उल्लेख गर्दै प्रकृतिको एउटा प्रहारले क्षणभरमै धेरै परिवारको संसार बदलिएको बताएका छन्।

“रसुवा, नुवाकोट र धादिङका धेरै परिवारका लागि अहिलेका दिन र रात कति पीडादायी होलान्, कल्पना गर्दा पनि हृदय भारी हुन्छ,” यादवले भनेका छन्, “आफ्नो मान्छे सुरक्षित छ भन्ने एउटा खबर सुन्न पाउनु पनि अहिले त्यहाँका परिवारका लागि सबैभन्दा ठूलो आशा बनेको छ।”

यादवले बाढी–पहिरोमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै बेपत्ता नागरिकहरूको शीघ्र खोज तथा उद्धार र प्रभावित परिवारको सुरक्षित पुनर्स्थापनाको कामना गरेका छन्।

उनले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सम्पूर्ण निकायहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुटिरहेको उल्लेख गर्दै त्यसलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन्।

उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण कार्यलाई पनि यथाशीघ्र तीव्र बनाउनुपर्नेमा जोड दिँदै यादवले पीडित परिवारले सकेसम्म चाँडो आफ्नो दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउन सक्ने वातावरण निर्माण गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यादवले वर्तमान विपत्तिले जीवनका सामान्य लाग्ने कुराहरूको वास्तविक महत्त्वसमेत सम्झाएको बताएका छन्। सुरक्षित घर, परिवारसँग बिताएको एउटा साँझ, आफ्ना प्रियजनको आवाज र भोलि बिहान सुरक्षित रूपमा उठ्ने आशा नै जीवनका सबैभन्दा ठूला सौभाग्य भएको उनको भनाइ छ।

उनले रसुवा, नुवाकोट, धादिङलगायत सम्पूर्ण प्रभावित परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दै भगवान्सँग सबैको रक्षा र नेपाल सुरक्षित रहोस् भन्ने प्रार्थना गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM