रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगर वीरगञ्जले संयुक्त रूपमा राहत संकलन अभियान सञ्चालन गर्न जिल्लाका सम्पूर्ण सदस्य विद्यालयलाई अपिल गरेका छन्।
प्याब्सन पर्सा र वीरगञ्ज महानगरले संयुक्त रूपमा जारी गरेको अपिलमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको, धेरै परिवारले आफन्त गुमाउनुका साथै घर, आवास तथा सम्पत्तिसमेत गुमाएर गम्भीर पीडा र संकटमा परेको उल्लेख गरिएको छ।
बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्याब्सनले पीडित तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार तथा पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गरेको छ।
प्याब्सन पर्साले प्राकृतिक विपत्ति कुनै व्यक्ति, संस्था वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाज र राष्ट्रकै पीडा भएको जनाएको छ। विपद्मा परेकाहरूलाई सहानुभूतिमा मात्र सीमित नराखी आफ्नो सामर्थ्यअनुसार सहयोगको हात बढाउनु मानवीय तथा सामाजिक दायित्व भएकाले यस विपत्तिको घडीमा प्याब्सनसँग आबद्ध सम्पूर्ण विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीलाई सहयोग अभियानमा सहभागी हुन अपिल गरिएको छ।
शिक्षा क्षेत्रमा क्रियाशील जिम्मेवार सामाजिक संस्थाका रूपमा प्याब्सन वीरगञ्ज तथा पर्साले रसुवाका पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग अभियानमा सहभागी हुन सदस्य विद्यालयहरूलाई आग्रह गरेको हो। विद्यालयहरूले आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालयबाट स्वेच्छिक सहयोग रकम संकलन गरी उपलब्ध गराउन सक्ने जनाइएको छ।
सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपत्तिमा परेका परिवारप्रति देखाइने सद्भाव, सहयोग र एकताको भावना महत्वपूर्ण हुने प्याब्सन पर्साले जनाएको छ। सहयोगका लागि कुनै बाध्यता वा दबाब नरहेको स्पष्ट पार्दै विद्यालयको निर्णयअनुसार इच्छाअनुसारको रकम प्याब्सन पर्साले तोकेको बैंक खातामा जम्मा गर्न अनुरोध गरिएको छ।
प्याब्सन पर्साका अनुसार सदस्य विद्यालयहरूबाट संकलन हुने सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास प्याब्सन पर्साले व्यक्त गरेको छ।
अपिलमा आज रसुवामा परेको विपत्ति भोलि अन्यत्र पनि आउन सक्ने भएकाले संवेदनशील अवस्थामा एकअर्काको साथमा उभिनुपर्नेमा जोड दिइएको छ। सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई तत्काल राहत, खाद्यान्न तथा पुनःस्थापनाको आशा दिलाउन सक्ने प्याब्सन पर्साको भनाइ छ।
प्याब्सन वीरगञ्ज तथा पर्साका सम्पूर्ण सदस्य विद्यालयहरू एकजुट भई मानवीय अभियानमा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गर्दै विद्यालय शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व र संवेदनशील नागरिक निर्माण गर्ने महत्वपूर्ण केन्द्रसमेत भएको अपिलमा उल्लेख गरिएको छ।
विद्यार्थी, अभिभावक तथा समाजमा सेवा, सहयोग, करुणा र मानवताको सकारात्मक सन्देश प्रवाह गर्न सामूहिक रूपमा अघि बढ्नसमेत प्याब्सनले आह्वान गरेको छ।
संयुक्त अपिलमा प्याब्सन महानगर वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।
राहत सहयोगका लागि खाता नाम: PABSON PARSA, खाता नम्बर: 02901000000077500178, बैंक: प्राइम कमर्सियल बैंक लिमिटेड, वीरगञ्ज शाखा रहेको प्याब्सनले जनाएको छ।
साथै साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय गरेको छ ।साथै विद्यार्थी र अभिभावकहरुसंग पनि सहयोग संकलन गरी एकमुष्ठ प्याब्सन पर्साको खातामा जम्मा गरी एकद्वार प्रणाली अन्तर्गत केन्द्रिय प्याब्सनद्वारा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । यसरी नै प्याब्सन पर्सा आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरुले यसै अनुरूप सहयोग रकम संकलन गरी जम्मा गर्नुपर्ने भनी प्याब्सन बीरगंज र प्याब्सन पर्साले अपिल गर्नु भएको कुरा प्याब्सन पर्साको अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनु भयो ।
























