भारत विकास परिषद्, शाखा–रक्सौलको आयोजनामा सञ्चालित ‘भारतलाई चिनौं’ अखिल भारतीय लिखित परीक्षा–२०२६ मा विभिन्न विद्यालयका करिब ४०० विद्यार्थी सहभागी भएका छन्।
क्याम्ब्रिज पब्लिक स्कुल, सेन्ट माइकल इङ्लिस स्कुल, एस.ए.भी. स्कुल, चन्द्रशील इङ्लिस स्कुल, सरस्वती विद्या मन्दिर, जयन्त एकेडेमी, एम.जी.एम. इन्टरनेसनल स्कुल, डी.पी.एम. स्कुल र भारती पब्लिक स्कुलका विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए।
३० मिनेटको परीक्षामा भारतको इतिहास, संस्कृति, परम्परा, ज्ञान–विज्ञान तथा महापुरुषसँग सम्बन्धित ५० वटा वस्तुनिष्ठ प्रश्न सोधिएको थियो।
परिषद्का अध्यक्ष रजनीश प्रियदर्शीले ‘भारतलाई चिनौं’ विद्यार्थीलाई देशको इतिहास, संस्कृति र ज्ञान परम्परासँग जोड्ने अभियान भएको बताए। सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक सह मिडिया प्रभारी बिमल कुमार सर्राफले विद्यालय व्यवस्थापन तथा शिक्षकहरूको सहयोगका कारण परीक्षा व्यवस्थित रूपमा सम्पन्न भएको बताए।
परीक्षाको नतिजाका आधारमा प्रत्येक विद्यालयको कनिष्ठ तथा वरिष्ठ वर्गमा प्रथम र द्वितीय हुने विद्यार्थी शाखास्तरीय क्विज प्रतियोगितामा सहभागी हुनेछन्।
























