रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।
संघले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। साथै नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लासमेत प्रभावित भएका छन्। बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको समेत सामाजिक दायित्व भएको जनाएको छ।
संघले बाढीपीडित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारका सम्बन्धित निकाय, विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
प्राकृतिक विपद् तथा संकटका समयमा विगतदेखि नै प्रभावित समुदायलाई सहयोग गर्दै आएको संघले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
संघका अनुसार विपद्को समयमा सरकारको राहत तथा पुनःस्थापना प्रयासमा निजी क्षेत्रको सहभागिता र सहयोगले प्रभावित परिवारलाई थप राहत पुग्ने विश्वास गरिएको छ। संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल तथा कार्यकारी सचिव सुनिलकुमार कण्ठ लगायत संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
वीरगञ्ज उद्योग वाणिज्य संघले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाउँदै आगामी दिनमा समेत मानवीय सेवाका कार्यमा सक्रिय रहने जनाएको छ।
























