२०८३ भाद्र २६ गते शुक्रबार

भोटेकोशी बाढीबाट राष्ट्रिय संकट मुक्ति होस् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक तथा विशेष प्रार्थना

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट देशले शीघ्र मुक्ति पाओस् भन्ने कामनासहित वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा तथा विशेष प्रार्थना गरिएको छ।

कर्मकाण्डी ब्राह्मण समाजको आयोजनामा बुधबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा–अर्चना गर्दै बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत विभिन्न जिल्लामा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्य सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरिएको हो।

पूजाका क्रममा बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको शान्ति एवं वैकुण्ठवासको कामना गरिएको थियो। साथै, विपद्मा परी घाइते भएका तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनयापनका लागि समेत विशेष प्रार्थना गरिएको थियो।

राष्ट्रमा आइपरेको विपद् छिट्टै अन्त्य होस्, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यले गति लिऊन् र देशमा शान्ति, समृद्धि तथा सुख–शान्ति कायम रहोस् भन्ने उद्देश्यले रुद्राभिषेकसहित सामूहिक पूजा गरिएको जनाइएको छ।

श्री पशुपतिनाथ मन्दिरका मूल पुजारीहरूसहित कर्मकाण्डी ब्राह्मण समाजका अध्यक्ष उत्तम उपाध्याय, गुरु लक्ष्मी प्रपन्नाचार्य, सचिव बलराम सुवेदी, पुरुषोत्तम उपाध्याय, गोपी गुरुलगायत १८ जना गुरु तथा ब्राह्मणले सामूहिक रूपमा रुद्राभिषेक पूजा तथा वैदिक विधि–विधानअनुसार पूजा–अर्चना गरेका थिए।

पूजामा वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय र श्रीमती मुना भट्टराई मुख्य यजमानका रूपमा सहभागी भएका थिए। उनीहरूले राष्ट्रमा आइपरेको विपद् छिट्टै अन्त्य होस् र प्रभावित नागरिकले शीघ्र राहत तथा सहयोग प्राप्त गरून् भन्ने कामनासहित पूजा सम्पन्न गरेका थिए।

कर्मकाण्डी ब्राह्मण समाजले प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्य र सम्बन्धित निकायले गरिरहेका प्रयासमा सफलता मिलोस् भन्ने कामनासहित धार्मिक तथा आध्यात्मिक माध्यमबाट सामूहिक प्रार्थना गरिएको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM