पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।
शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार अध्यक्ष यादवसहित पक्राउ परेका क्यासिनोका कर्मचारीहरूको पहिचान तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आइतबार प्रेस विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न कानुनी रोक रहेकाले अध्यक्ष यादवको क्यासिनो उपस्थितिलाई समेत प्रहरीले अनुसन्धानको विषय बनाएको छ।
सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेका जनप्रतिनिधि पक्राउ परेको यो घटना पर्सामा पहिलो भएको बताइएको छ। घटनाले सरकारी स्रोतसाधनको प्रयोग तथा जनप्रतिनिधिको आचरण माथि समेत प्रश्न उठाएको छ।
























