२०८३ भाद्र २६ गते शुक्रबार

गाउँपालिका प्रमुख यादव र इन्सपेक्टर पौडेल सहित ८ जना नेपाली क्यासिनोबाट पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल सहित नेपाली नागरिक तथा क्यासिनोका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भदौ २० गते राति करिब साढे १० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले क्यासिनोमा निगरानी तथा अनुसन्धान गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा चार जना नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ निवासी ३६ वर्षीय जसवन्त यादव, पर्सा सखुवाप्रसौनी–६ कै ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ निवासी ३६ वर्षीय प्रदीप पौडेल रहेका छन्। यादव नेकपा (एमाले)बाट निर्वाचित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्सपेक्टर) हुन्।

प्रहरीको विज्ञप्तिमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको उल्लेख छ। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका–१४ निवासी २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज महानगरपालिका–२५ निवासी ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई हाल उक्त क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ निवासी ५० वर्षीय प्रदेसी साह रहेका छन्।

यस घटनामा प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी रूपमा निषेध गरिएको अवस्थामा जनप्रतिनिधि र सुरक्षा निकायका प्रहरी निरीक्षकसमेत क्यासिनोमा भेटिनुले घटनालाई थप गम्भीर बनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM