अणुव्रत विश्व भारती सोसाइटीको तत्वावधानमा सञ्चालित अणुव्रत क्रिएटिभिटी कन्टेस्ट (ACC) अन्तर्गत अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता कादम्बरी स्कूलमा सम्पन्न भएको छ। प्रतियोगितामा विद्यालयका करिब ३०० जना बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका छन्।
कार्यक्रममा अणुव्रत विश्व भारती सोसाइटीका पूर्व अध्यक्ष नवरतनमलजी भुतोडिया, पूर्व नेपाल प्रभारी तथा महासभाका भूतपूर्व कार्यसमिति सदस्य निर्मलजी सिंघी तथा नेपाल–भुटान ACC प्रभारी समता भुतोडियाको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा कादम्बरी स्कूलका अध्यक्ष दीपकजी तुलस्यान तथा प्रधानाध्यापकको उपस्थितिमा ACC को ब्यानर अनावरण गरिएको थियो। सो अवसरमा विद्यालयका अध्यक्ष तुलस्यानले समता भुतोडियासहित उपस्थित विशिष्ट अतिथिहरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुलस्यानले वर्तमान परिवेशमा समता भुतोडियाले अणुव्रत विश्व भारतीको प्रतिनिधिका रूपमा बालबालिकामाझ अणुव्रतका मूल्य र मान्यतालाई पुर्याउन गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता रचनात्मक तथा नैतिक शिक्षासँग सम्बन्धित गतिविधिमा कादम्बरी स्कूलले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै क्रममा नेपाल–भुटान ACC प्रभारी समता भुतोडियाले नेपाली बालबालिका तथा विद्यार्थीहरूलाई अणुव्रतको अवधारणा र यसको महत्वबारे जानकारी गराउनुभएको थियो। उहाँले बालबालिकालाई अणुव्रतका पाँच नियमबारे जानकारी दिँदै ती नियम पालना गर्ने शपथसमेत गराउनुभएको थियो।
कार्यक्रममा अध्यक्ष दीपकजी तुलस्यानले विद्यार्थीहरूले लिएका पाँच नियमलाई फ्लेक्समा तयार गरी विद्यालयको मुख्य प्रवेशद्वारमा राख्ने बताउनुभयो। यसले विद्यालयमा आउने विद्यार्थी तथा अभिभावकलाई समेत अणुव्रतका सकारात्मक सन्देशबारे जानकारी लिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सिर्जनात्मक सोच, कल्पना र प्रतिभालाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए। विभिन्न विषयलाई आधार बनाएर तयार गरिएका चित्रहरूले बालबालिकाको रचनात्मक क्षमता तथा कलाप्रतिको रुचि प्रदर्शन गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई चन्दादेवी ज्योति कुमार बेगानीद्वारा पदक प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिताका लागि कादम्बरी स्कूललाई कला सहभागिता ट्रफीसमेत प्रदान गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन विद्यालयका स्कुल को–अर्डिनेटर सन्दीपजीको विशेष योगदान रहेको थियो। प्रतियोगितामा सहभागी सबै बालबालिकाले उत्साह र सिर्जनात्मकताका साथ आफ्ना कलाकृति प्रस्तुत गरेका थिए।
आयोजकका अनुसार अणुव्रत क्रिएटिभिटी कन्टेस्टमार्फत बालबालिकामा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै नैतिक मूल्य, अनुशासन, सदाचार र सकारात्मक सोचको विकास गर्ने उद्देश्य राखिएको छ।
























