ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानमाथि लगाइएको बिरुवा चोरी तथा दुरुपयोगसम्बन्धी आरोप राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित रहेको खेतानले बताएका छन्।
खेतानले आफू वीरगञ्ज महानगरपालिकाको सरसफाइ तथा हरियाली संयोजकको जिम्मेवारीमा रहेर लामो समयदेखि वीरगञ्जका विभिन्न स्थानमा वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्दै आएको स्पष्ट पारे। उनले वृक्षारोपणका लागि बिरुवा लैजाने विषयलाई चोरीसँग जोडेर आरोप लगाउनु गलत भएको बताए।
“यहाँ काम गर्ने मान्छे छैन, काम गर्ने मान्छेको खुट्टा तान्ने धेरै छन्,” खेतानले भने, “म वीरगञ्ज महानगरपालिकाको सरसफाइ तथा हरियाली संयोजक हुँ। यही जिम्मेवारीअनुसार विभिन्न स्थानमा वृक्षारोपण गर्न बिरुवा लगिएको हो।”
उनका अनुसार विगतका वर्षदेखि नै वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा आफ्नो व्यक्तिगत पहल तथा खर्चका साथै विभिन्न दाता र संघसंस्थाको सहयोगमा ठूलो संख्यामा बिरुवा रोप्ने काम हुँदै आएको छ।
“आफ्नै निजी खर्चमा वीरगञ्जका विभिन्न स्थानमा सयौँ बिरुवा रोप्ने व्यक्तिले १२० थान बिरुवा चोरी गर्न लगाउँछ भन्ने आरोप नै राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित छ,” खेतानले भने।
खेतानले आफूले व्यक्तिगत रूपमा समेत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएको दाबी गरे। उनले वृक्षारोपणका लागि प्रयोग हुने बिरुवाको विषयमा अनावश्यक विवाद सिर्जना गर्नुको सट्टा वीरगञ्जलाई हरियाली र स्वच्छ बनाउन भइरहेका प्रयासलाई सहयोग गर्न आग्रह गरे।
यसैबीच, महानगरपालिकाका कर्मचारीहरूले साउन २१ गते नर्सरीबाट निकालिएका भनिएका बिरुवा त्यसको भोलिपल्टै वीरगञ्ज महानगरपालिका–१ छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृक्षारोपण गरिएको बताएका छन्।
कर्मचारीहरूका अनुसार नर्सरीबाट निकालिएका बिरुवा अन्यत्र लैजाने उद्देश्यले नभई वृक्षारोपण कार्यक्रमकै लागि प्रयोग गरिएको हो।
घटनाबारे उठेको विवादका बीच अध्यक्ष खेतानले आफूमाथि लगाइएको आरोप तथ्यहीन र निराधार रहेको दोहोर्याउँदै वृक्षारोपण तथा वातावरण संरक्षणको अभियानलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन्।उनले वीरगञ्जमा हरियाली विस्तारका लागि आगामी दिनमा पनि विभिन्न स्थानमा वृक्षारोपण अभियानलाई निरन्तरता दिने बताएका छन्।























