२०८३ श्रावण ३० गते शनिबार

गौतम समाज कल्याण संस्थाद्वारा नारायणी अस्पतालको निःशुल्क भोजन शिविरलाई ३२ हजार सहयोग

 

वीरगन्ज–१३, श्रीपुरस्थित गौतम सेकेन्ड्री स्कूल द्वारा संचालित गौतम समाज कल्याण संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरका लागि एक दिनको सम्पूर्ण भोजन खर्चबापत रुपैयाँ सहयोग गरेको छ।

गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा चेक वीरगन्ज समाजसेवाका महासचिव प्रकाश बाहेतीलाई अध्यक्ष क्षेत्रीले हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्तालगायत पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। साथै गौतम सेकेन्ड्री स्कूलका विद्यार्थी, शिक्षक तथा एनसीसीका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सौराज प्रधानले सामाजिक सेवाको भावनाबाट प्रेरित भएर संस्था तथा विद्यालयले विभिन्न सहयोगात्मक कार्यलाई निरन्तरता दिँदै आएको बताए।

उनले गौतम सेकेन्ड्री स्कूल ५० वर्ष पुगेको अवसरमा सामाजिक सेवाका कार्यक्रमलाई थप निरन्तरता दिने योजना रहेको बताए। “विद्यालयको ५०औँ वर्ष पुगेको अवसरमा अब हरेक महिना खाना खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ। त्यसैको सुरुवात आज वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट गरेका हौँ,” उनले भने।

प्रधानले समाजका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकालगायत आवश्यकतामा रहेका व्यक्तिहरूको जीवन सहज बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने संस्थाको योजना रहेको उनको भनाइ छ।

वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट दैनिक रूपमा बिरामीका कुरुवा, उपचारका लागि आएका सेवाग्राही तथा अन्य आवश्यकतामा रहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। उक्त दिनको भोजन सेवाबाट करिब ४ सयदेखि ५ सय जनाले सेवा लिएको जनाइएको छ।

गौतम सेकेन्ड्री स्कूलद्वारा सञ्चालित सामाजिक संस्था गौतम समाज कल्याण संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM