देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि वीरगञ्जस्थित होटल आदर्श इनले आर्थिक सहयोग प्रदान गरेको छ।
होटल आदर्श इनका सञ्चालक तथा वीरगञ्जका युवा व्यवसायी एवं समाजसेवी विजय सर्राफले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीपीडितका लागि ५१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन्।
बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भइरहेका बेला पीडितहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सर्राफले बताए।
उनले विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको उल्लेख गर्दै बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा मलम लगाउने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरिएको बताए।
सर्राफले भने, “एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो। विपद्को यस घडीमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ।”
उनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था र आम नागरिकले समेत सहयोगका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए।
होटल आदर्श इनले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको बताइएको छ। हालको सहयोगले बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
























