२०८३ भाद्र १२ गते शुक्रबार

जगरनाथपुरमा आयोजित निःशुल्क आँखा शिविरबाट १०७ जना लाभान्वित, ३३ जनामा मोतियाबिन्दु पहिचान

 

पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खलुचडीको प्रांगणमा आयोजित निःशुल्क आँखा शिविरबाट १०७ जना लाभान्वित भएका छन्।

दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीय सर्वसाधारणको निःशुल्क आँखा परीक्षण गरिएको थियो।

शिविरमा कुल १०७ जनाको आँखा परीक्षण गरिएकोमा ३३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको शिविर संयोजक राजेश चौधरीले जानकारी दिए। तीमध्ये १८ जनालाई आवश्यक औषधि तथा आँखा ड्रप उपलब्ध गराई घर पठाइएको उनले बताए।

बाँकी मोतियाबिन्दुका बिरामीलाई भदौ १३ गते शनिबार वीरगञ्जस्थित सामुदायिक आँखा अस्पतालमा लगेर पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने संयोजक चौधरीले जानकारी दिए।

शिविरमा समाजसेवी घनञ्जय यादव, शरफुद्दीन राउत गद्दी, शुभनारायण यादव, अनिरुद्ध राउत गद्दीलगायतको उपस्थिति रहेको थियो।

स्थानीय स्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचारको अवसर पाएपछि शिविरमा सहभागी स्थानीयवासीले आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्। स्थानीय क्षेत्रमा यस्ता स्वास्थ्य शिविरको निरन्तरताले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM