रसुवागढीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितलाई सहयोग पुर्याउने तथा आकस्मिक उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्ने उद्देश्यले वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–१३ अन्तर्गत घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन्। “रक्तदान जीवनदान, सेवा नै धर्म हो”भन्ने मूल नाराका साथ आर.पी. फाउन्डेसन तथा वीरगञ्ज महानगरपालिका–१३ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता प्रतीक्षा अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–१३ का वडाध्यक्ष हिरा गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराई लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी रक्तदाताहरूले बाढीका कारण प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। आयोजकका अनुसार प्राकृतिक विपद्का समयमा घाइते तथा बिरामीको उपचारका लागि रगतको माग बढ्ने भएकाले सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।
रसुवागढी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुका साथै आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी तथा उपस्थित अतिथिहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।
























