हिन्दु धर्मावलम्बीहरूको महान् पर्व तिहार तथा छठलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा दीपावलीको दिन वीरगञ्जको आदर्शनगर चोकमा विशेष मेला आयोजना गरिने भएको छ।
चाडपर्वको अवसरमा नगरवासी तथा आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
मेलालाई सभ्य, भव्य, व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गर्ने तयारीस्वरूप ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा विशेष छलफल गरिएको छ। छलफलमा मेलाको व्यवस्थापन, सुरक्षा, ट्राफिक नियन्त्रण, सरसफाइ तथा आगन्तुकहरूको सुविधालगायतका विषयमा विस्तृत विचारविमर्श गरिएको थियो।
यसैक्रममा वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ तथा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीसहितको संयुक्त टोलीले मेला आयोजना हुने स्थलको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा मेलामा आउने सर्वसाधारणको आवागमन सहज बनाउने, सम्भावित भीड व्यवस्थापन गर्ने, सुरक्षा व्यवस्था चुस्त बनाउने तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक तयारीबारे छलफल गरिएको थियो।
तिहार तथा छठको अवसरमा आयोजना हुने उक्त मेलालाई आकर्षक बनाउन आदर्शनगर चोकलाई झिलिमिली बत्तीले सजाउने तयारी गरिएको छ। मेलामा विभिन्न परिकारका फुड स्टल, आकर्षक सेल्फी पोइन्ट तथा नेपाली संस्कृति र परम्पराको पहिचान झल्काउने पिङ (झुला) लगायतका मनोरञ्जनात्मक आकर्षणहरू राखिने भएका छन्।
त्यसैगरी, मेला अवलोकन गर्न आउने बालबालिका, युवा, परिवार तथा अन्य आगन्तुकहरूलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन मिलाइने जनाइएको छ।
मेलाको तयारी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा बृहत् छलफलसमेत गरिएको थियो। छलफलमा मेला अवधिभर शान्ति सुरक्षा कायम राख्ने, भीडभाड नियन्त्रण गर्ने र कुनै पनि अप्रिय घटना हुन नदिन सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्ने विषयमा जोड दिइएको थियो।
वीरगञ्जको आदर्शनगर चोकमा आयोजना हुन लागेको यस विशेष मेलाले तिहार र छठको उत्सवलाई थप उल्लासमय बनाउनुका साथै नगरको सांस्कृतिक र सामाजिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
























