२०८३ बैशाख १७ गते बिहीबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, २० वैशाख

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा शनिबार बिहान वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

प्रभातफेरी घन्टाघर चौकबाट प्रारम्भ भई माईस्थान, आदर्शनगर हुँदै पुनः घन्टाघर चौकमा समापन गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षता रहेको थियो भने महासंघका सचिव अजय चौरसियाले संचालन गरेका थिए। कार्यक्रममा केन्द्रिय सदस्य अशोक तिवारी,श्याम बन्जारा,केसि लामिछाने सहित अन्य पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमहरूबाट आएका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको सन्देश बोकेका प्लेकार्डहरू बोकेर विभिन्न नारासहित सहभागिता जनाएका थिए। प्रभातफेरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता, प्रेसको निष्पक्षता तथा पत्रकार सुरक्षाको मागसहित समाजमा प्रेसको महत्वबारे जनचेतना फैलाउनु रहेको आयोजकहरूले बताएका छन्।

अध्यक्ष खनालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सचेत, निडर र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। उहाँले सञ्चारमाध्यममाथि देखिने विभिन्न प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूप्रति चिन्ता व्यक्त गर्दै, स्वतन्त्र प्रेसका लागि सशक्त नागरिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

केन्द्रिय सदस्य अशोक तिवारीले विश्वभर मनाइने यस दिवसले पत्रकारहरूको योगदान, चुनौती र जोखिमप्रति जनचेतना जगाउने अवसर प्रदान गर्ने बताउँदै, पर्सामा समेत प्रेस स्वतन्त्रताको सुदृढीकरणका लागि महासंघ सक्रिय रहेको जानकारी दिनुभयो।

यस अवसरमा महासंघका अन्य पदाधिकारी, ज्येष्ठ पत्रकारहरू र युवापुस्ताका सञ्चारकर्मीहरूले समेत प्रेस स्वतन्त्रता सुदृढ बनाउने विषयमा मन्तव्य व्यक्त गरेका थिए।

प्रभातफेरीले वीरगंजमा सञ्चार क्षेत्रप्रतिको सचेतना अभिवृद्धिमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM