२०८३ असार १० गते बुधबार

सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

 

अभिलाष गुप्ता
पर्सा,०६ जेष्ठ

 

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ औराहा पचगावामा राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। गाँउपालिकाभित्रका सबै सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष यशवन्त यादवले एक विशेष समारोहका बीच गर्नुभएको हो।

दीपनारायण आदर्श उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले खेलकुदलाई स्वस्थ जीवनका लागि अपरिहार्य बताएका छन्। उनले भने, “विद्यालयस्तरमै खेलकुदमा लगानी गर्दा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ, जसले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछ।”

उनले गाउँपालिकाले हरेक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडाध्यक्ष चिरञ्जीवी महत्तो थारुले गर्नुभएको थियो। प्रमुख अतिथि अध्यक्ष यादवसँगै गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख नेपालेन्दु साहका अनुसार, प्रतियोगिता जेठ ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा पालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। दौड, हाई जम्प, लङ जम्प, सटपुट, भलिबल, कबड्डी लगायतका विविध खेल समावेश गरिएका छन्।

साहका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको शारीरिक विकासका साथै खेलकुदप्रति रुचि र चेतना बढाउनु हो। यसले विद्यालयस्तरमै प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै खेलकुद संस्कृतिको प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा यस्ता कार्यक्रमले बालबालिकाको बहुआयामिक विकासमा सघाउ पुर्‍याउने भन्दै सहभागी विद्यालयका प्रतिनिधिहरूले आयोजकप्रति आभार व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM