अभिलाष गुप्ता
वीरगंज, ०९ जेठ
वीरगंज महानगरपालिका अन्तर्गत सञ्चालित भोजपुरी प्रतिष्ठानले “आपन भाषा आपन पहचान” नामक अभियान सुरु गरेको छ। वीरगंजका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत पहिलो कार्यक्रम शुक्रबार कन्या माध्यमिक विद्यालयमा सम्पन्न भयो।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षता र सल्लाहकार प्रमोद पाण्डेको प्रमुख आतिथ्यतामा विद्यार्थीहरूलाई मातृभाषा, संस्कृति र कलाको महत्वबारे जानकारीमूलक सन्देश दिइयो। सल्लाहकार पाण्डेले मातृभाषा संरक्षण र विकासमा सबैले अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोकचित्रकला र यसको महत्वबारे व्याख्या गर्दै चित्र बनाउन प्रयोगात्मक तालिम दिए। सदस्य कवि तथा गीतकार आमोद गुप्ताले भोजपुरी कविता वाचन र गीत प्रस्तुत गर्दै भाषा सन्देश प्रवाह गरे। श्याम सर्राफले मातृभाषाको गर्वका साथ प्रयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।
कार्यक्रममा करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पहिलोपटक मातृभाषामा निर्धक्क छलफल गर्न पाउँदा खुशी र गर्व महसुस गरेको बताए। कार्यक्रम सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने सहजीकरण सदस्य सचिव अमित अग्रवालले गरेका थिए।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले भाषा, कला र संस्कृतिको संरक्षणमा भोजपुरी प्रतिष्ठानको प्रयास सराहनीय रहेको भन्दै मातृभाषामा बोल्न, लेख्न र अभिव्यक्त गर्न सबैले पाउनुपर्ने धारणा राखे।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहले अभियानलाई वीरगंजका अन्य सामुदायिक विद्यालयमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिइन्।









