२०८२ चैत्र १८ गते बुधबार

बिरगंज वडा नम्बर ५ मा छाडा तार हटाउन वडा अध्यक्षको सक्रियता, स्थानीयले स्वागत गरे

 

 

अभिलाष गुप्ता
बिरगंज,१२ जेष्ठ

 

बिरगंज महानगरपालिका वडा नम्बर ५ मा सडक किनारमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट, केबुल, र टेलिफोनका तारहरू हटाउने कार्य तीव्र रूपमा सुरु गरिएको छ। वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा गरिएको यस अभियानले स्थानीय क्षेत्रमा सुरक्षासम्बन्धी चुनौतीहरू न्यूनीकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वडाध्यक्ष चौरसियाले बताए अनुसार, “विगत केही समयदेखि टोलमा छाडा रूपमा झुन्डिएको तारहरूले आगलागीको जोखिम मात्र होइन, सर्वसाधारणको आवागमनमा समेत अवरोध उत्पन्न गरिरहेको थियो। केही स्थानमा त बालबालिका र वृद्धवृद्धाहरू लड्ने र घाइते हुने अवस्थासमेत देखिएको थियो। यही समस्यालाई समाधान गर्न हामीले यो कार्य थालनी गरेका हौं।”

यस अभियानको सुरुवात वडा नम्बर ५ स्थित विभिन्न गल्ली तथा टोलहरूबाट गरिएको छ। तार हटाउने कार्यमा वडासचिव अरुण बस्नेतको पनि सक्रिय सहभागिता देखिएको छ। अभियानमा प्राविधिक सहयोग लिने प्रक्रिया पनि अघि बढाइएको छ, जसले सुरक्षित र दीर्घकालीन समाधान सुनिश्चित गर्नेछ।

स्थानीय बासिन्दाहरूले यो पहललाई खुलेर स्वागत गरेका छन्। उनीहरूका अनुसार, यसअघि सडकपेटीमा हिँड्नसमेत मुस्किल पर्ने अवस्था थियो। अब भने टोल सफा, सुरक्षित र सौन्दर्ययुक्त बन्दै गएको देखिएको छ।

वडाध्यक्ष चौरसियाले यस्ता कार्यहरू निरन्तर भइरहने जानकारी पनि दिएका छन्। “हामी टोललाई व्यवस्थित र आधुनिक बनाउने दिशामा अघि बढिरहेका छौं। नागरिकको सहयोग र सुझाव लिएर आगामी दिनमा थप विकासे योजना पनि लागू गरिनेछ,” उनले थपे।

यो अभियानले केवल तार व्यवस्थापन मात्र नभई स्थानीय सरकारको सक्रियता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता पनि देखाएको छ। यदि अन्य वडाहरूमा पनि यस्तै खालको जनउत्तरदायी कार्य अघि बढाइयो भने सम्पूर्ण बिरगंज शहरको स्वरूप नै परिवर्तन हुन सक्ने संकेत देखिन थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM