अभिलाष गुप्ता
रक्सौल, जेष्ठ १३
रक्सौल शहरका प्रमुख समस्या – ट्राफिक जाम, अतिक्रमण र अस्थायी बस स्ट्यान्ड – समाधानका लागि आज एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठक भारतीय जनता पार्टी (भाजपा) का विधायक प्रमोद कुमार सिन्हा र अनुमण्डल पदाधिकारी मनीष कुमारको अध्यक्षतामा भएको हो।

शहरका सामाजिक संघ–संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागितामा प्रशासनसँग खुलेर छलफल भएको बैठकमा ठोस निर्णयहरू गरिएका छन्।
बैठकमा बट्टा चोक र नहर चोकमा नियमित प्रहरी तैनाथ गर्न निर्देशन दिइएको छ। साथै, नहर चोकमा निर्माणाधीन पुल निर्माण कार्य पूरा भएपछिको तत्काल राहतको अपेक्षा व्यक्त गरिएको छ।
अस्थायी बसपार्कको समस्यालाई दीर्घकालीन समाधान गर्न स्थायी बस स्ट्यान्ड निर्माणको दिशामा छिट्टै ठोस कदम चालिने जनाइएको छ।

बैठकले सम्बन्धित सबै निकायहरूलाई एक साताभित्र समस्या समाधानतर्फ आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ।
सामाजिक संघ–संस्थाहरूको सक्रिय सहभागिताले प्रशासनलाई जनसमर्थन प्रदान गरेको छ। यसपटक केवल छलफलमै सीमित नभई, सबै पक्ष एकजुट भएर समाधानतर्फ अघि बढिरहेका कारण रक्सौलवासीमा सकारात्मक आशा जागेको देखिन्छ।









