अभिलाष गुप्ता
जेष्ठ २१ बिरगंज
पर्साको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाका १३ वटा वडा कार्यालयहरूबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। बाकी वडाहरुमा पनि बिस्तारै सेवा दिईने छ।
बुधबार नेशनल मेडिकल कलेजको सभाहलमा आयोजित कार्यक्रममा महानगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू र अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेको छ ।
ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले १३ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन ( तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ।
आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए । सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै वडा अध्यक्षहरुले आजको दिनलाई एतिहासिक दिनको रूपमा मानेका छन् । उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे ।
साथै अस्पतालका निदेशक डाक्टर ईसरत जहान अन्सारीले आजको दिन हामी सबैको लागि एतिहासिक दिन रहेको बताए। उनले अब सहर देखि गाउँसम्मका जन्ताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।









