पर्साको बहुदरमाई नगरपालिकाको आयोजनामा दोस्रो उप-मेयर क्रिकेट कपको उद्घाटन बिहीबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं उप-मेयर सुष्मा कुशवाहाले गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्दै उप-मेयर कुशवाहाले वडा नम्बर ३ का खेलाडीहरू प्रतियोगितामा सहभागी नभएकोप्रति दुःख व्यक्त गर्दै, “हारजित खेलको प्रक्रिया हो, तर सबैमा जितको हौसला रहनु पर्छ,” भन्दै सहभागी खेलाडीहरूलाई उत्साहपूर्वक खेल्न आग्रह गर्नुभयो।
उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भएको प्रतिबद्धता अनुरूप खेलमैदान अगाडि रहेको पुलको योजना स्वीकृत भइसकेको जानकारी समेत दिनुभयो। “अब छिट्टै उक्त पुल निर्माण कार्य सुरु हुनेछ,” उप-मेयर कुशवाहाले भनिन्। साथै, खेलमैदानको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो।
कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडा अध्यक्ष दिनेश प्रसाद यादव, सुरेन्द्र यादव, सुनिल कुशवाहा लगायत जनप्रतिनिधि तथा अधिकारीहरूको उपस्थिति रहेको थियो।
दोस्रो उप-मेयर क्रिकेट कप प्रतियोगिताले बहुदरमाई नगर क्षेत्रका युवाहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी मेलमिलाप र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।









