अभिलाष गुप्ता
बीरगंज, जेष्ठ १०
पर्सा जिल्लामा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय पर्साको आयोजनामा वीरगंजको घन्टाघर चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरीको सक्रियतामा आयोजित सो कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षामा जनसहभागिता अभिवृद्धि गर्नु तथा ट्राफिक नियमप्रति समुदायमा चेतना फैलाउनु रहेको थियो।
कार्यक्रममा सवारी चालकहरूसँग प्रत्यक्ष संवाद गरी ट्राफिक नियम पालना नगर्दा हुने जोखिमबारे जानकारी दिइएको थियो। साथै, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, पैदल यात्रुको अधिकार, ट्राफिक संकेतहरूको प्रयोग तथा हेलमेटको अनिवार्य प्रयोगका विषयमा विशेष जानकारी प्रदान गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले ट्राफिक नियमको अवज्ञा नै अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको बताए। उनले सडक सुरक्षाबारे समुदायमै पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक रहेको बताए। साथै, यस्ता कार्यक्रम अन्य स्थानहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको जानकारी गराए।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले जनमानसमा सकारात्मक सन्देश पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।



















