२०८२ फाल्गुन ५ गते मंगलवार

मुनलाईट विद्यालय वीरगञ्जमा म्याथ ल्याब स्थापना, शिक्षामा नयाँ अभ्यासको सुरुवात

 

अभिलाष गुप्ता
वीरगञ्ज,११ जेष्ठ

वीरगञ्ज महानगरपालिका–१० कुम्हालटोलमा अवस्थित मुनलाईट विद्यालयमा आधुनिक गणित प्रयोगशाला (म्याथ ल्याब) को स्थापना गरिएको छ। विद्यार्थीहरूलाई व्यवहारिक तरिकाले गणित सिकाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबले शिक्षामा नवीनतम प्रविधिको प्रयोगमार्फत सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।

विद्यालयका प्रबन्ध निर्देशक शुल्भ के.सीले म्याथ ल्याबको औपचारिक घोषणा गर्दै भने, “गणित परम्परागत रूपमा धेरै विद्यार्थीका लागि जटिल विषय मानिन्छ। हामीले अब प्रयोगात्मक र दृष्य माध्यममार्फत सिकाउने विधिलाई अपनाएका छौं जसले गर्दा गणितप्रतिको डर हट्नेछ र सिकाइ रमाइलो हुनेछ।”

एम्स ल्याबको प्रविधि र सहयोग

उक्त म्याथ ल्याब काठमाडौंस्थित शैक्षिक प्रविधिमा आधारित संस्था ‘एम्स ल्याब’ को सहकार्यमा स्थापना गरिएको हो। एम्स ल्याबले आधुनिक प्रविधि, शिक्षण उपकरण र कार्यशालामार्फत विद्यालयलाई पूर्ण सहयोग प्रदान गरेको हो। ल्याबमा गणितका विभिन्न अवधारणालाई बुझाउने मोडलहरू, खेल तथा सामग्रीहरू समावेश गरिएका छन् जसले गणितीय सोच र समाधान क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

गणित शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम

म्याथ ल्याब स्थापना सँगसँगै वीरगञ्ज महानगरपालिकाका विभिन्न १० वटा विद्यालयका गणित शिक्षकहरूलाई विशेष प्रशिक्षण पनि प्रदान गरिएको छ। तालिमको उद्देश्य शिक्षकमार्फत विद्यार्थीमा व्यवहारिक सिकाइ प्रविधि प्रवाह गर्नु रहेको छ। प्रशिक्षित शिक्षकहरूले भविष्यमा आफ्ना विद्यालयहरूमा पनि यस्ता प्रयोगात्मक पद्धतिहरू कार्यान्वयन गर्न सक्ने अपेक्षा लिइएको छ।

उद्घाटन समारोहमा उल्लेखनीय उपस्थिति

उक्त उद्घाटन कार्यक्रममा मुनलाईट विद्यालयका संस्थापक निर्देशक श्याम के.सी, विद्यालयका शिक्षक-शिक्षिकाहरू, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित शिक्षकहरूले यस्ता प्रयोगात्मक शिक्षण पद्धतिले सिकाइको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापनका अनुसार म्याथ ल्याबको प्रयोग कक्षा ३ देखि माथिका सबै कक्षाका विद्यार्थीका लागि खुल्ला रहनेछ। विद्यार्थीहरूले नियमित कक्षा तालिकाअनुसार ल्याबको प्रयोग गर्न सक्नेछन्।

शिक्षामा प्रविधिमैत्री प्रयोगको उदाहरण

मुनलाईट विद्यालयद्वारा गरिएको यो पहलले वीरगञ्ज लगायत मधेश प्रदेशका अन्य विद्यालयहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ। गणित जस्तो चुनौतीपूर्ण विषयलाई रमाइलो र सहज बनाउँदै सिकाइलाई व्यवहारिक बनाउने म्याथ ल्याब स्थापना शिक्षा क्षेत्रमा प्रविधिमैत्री प्रयोगको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM