अभिलाष गुप्ता
जेठ,११ बारा
बारा जिल्लाको फेटा गाउँपालिका वडा नं १ अन्तर्गत त्रिवेणी टोलमा झुलुङ्गे पुलदेखि अकवानियासम्म बाँध निर्माण कार्य सुरु गरिएको छ। हरेक वर्षको अविरल वर्षापछिको बाढीले जनधनको ठूलो क्षति गर्दै आएको यस क्षेत्रमा, बाँध निर्माणले दीर्घकालीन समाधान दिने विश्वास लिइएको छ।
आईतबार गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले औपचारिक रूपमा सो बाँध निर्माण कार्यको सिलान्यास गरेका हुन्। गाउँपालिका स्तरीय योजनाअन्तर्गत सुरु गरिएको यस परियोजनाबाट स्थानिय बासिन्दाले बाढीको भयबाट छुटकारा पाउने र जनधनको सुरक्षा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष अन्सारीले निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद तिवारी, वडा नं १ का वडा अध्यक्ष बिगन दास तत्मा, गाउँपालिका कर्मचारी, स्थानीय नेता, समाजसेवी तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीले यो परियोजनालाई स्वागत गर्दै दीर्घकालीन राहतको स्रोतको रूपमा लिएका छन्।









