अभिलाष गुप्ता
बारा १६ जेष्ठ
बारा जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११:४० बजे वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको बिरगञ्ज ०१ बियू ३४८५ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्ने क्रममा ट्रामाडोल र ओनेरेक्सजस्ता प्रतिबन्धित औषधि फेला परेको हो।
उक्त चेकजाँच कारबाहीमा संलग्न प्रहरी टोलीले कारमा सवार दुई जना भारतीय नागरिकलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम, उमेर तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले बरामद गरिएको लागुऔषधको परिमाण, स्रोत र वितरण गर्ने उद्देश्यसम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



















