२०८२ मंसिर २६ गते शुक्रबार

गुरुद्वारा गुरु नानक सत्संग बिरगंजद्वारा सहिदी पर्वको अवसरमा चना र चिसो सरबत निःशुल्क वितरण

 

अभिलाष गुप्ता
बिरगंज, जेष्ठ १६

सिख धर्मका पाँचौँ गुरु गुरु अर्जन देव जी महाराजको सहादत दिवस (सहिदी पर्व) को अवसरमा गुरुद्वारा गुरु नानक सत्संग, बिरगंजद्वारा श्रद्धाञ्जलिस्वरूप आज विशेष सेवा कार्यक्रम सम्पन्न गरिएको छ।

बिरगंजको श्रीपुरस्थित गुरुद्वाराको आफ्नै भवन अगाडि आयोजना गरिएको उक्त कार्यक्रममा चना र चिसो सरबत निःशुल्क रुपमा वितरण गरिएको हो। कार्यक्रममा सर्वसाधारण, विद्यार्थी, पैदलयात्री तथा स्थानीय बासिन्दाले सहभागी भई सेवा ग्रहण गरेका थिए।

गुरुद्वारा व्यवस्थापन समितिका पदाधिकारीहरूका अनुसार गुरु अर्जन देव जी महाराज सिख धर्मका पहिलो सहिद मानिन्छन्, जसले धार्मिक सहिष्णुता, मानव अधिकार र आत्मसम्मानका लागि आफ्नो प्राणको आहुति दिएका थिए। उनले धर्म र सत्यका पक्षमा उभिनुका लागि आत्मबलिदान गरेका थिए, जसको सम्झनामा प्रत्येक वर्ष यो दिन विशेष सेवाका माध्यमबाट मनाइने गरिएको छ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस्तो सेवा कार्यले समाजमा आपसी सद्भाव, करुणा र सेवा भावनाको विकास गराउने विश्वास व्यक्त गरे। गर्मी मौसममा चिसो सरबत तथा पौष्टिक चनाको निःशुल्क वितरणले यात्रु तथा विद्यार्थीहरूलाई राहत प्रदान गरेको थियो।

गुरुद्वारा गुरु नानक सत्संग बिरगंजले विगतदेखि नै धार्मिक तथा सामाजिक सेवाका गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। गुरुद्वाराका प्रतिनिधिहरूका अनुसार आगामी दिनहरूमा पनि सेवा, शान्ति र सहयोगको भावनामा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

सहिदी पर्वको पावन अवसरमा आयोजित यस किसिमको सेवा कार्यक्रमले गुरु अर्जन देव जी महाराजको उच्च आदर्श र शिक्षालाई वर्तमान पुस्तामा सन्देश दिन सफल भएको सहभागीहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM