अभिलाष गुप्ता
वीरगञ्ज, जेष्ठ १८
स्वास्थ्य र शारीरिक सशक्तिकरणको क्षेत्रमा क्रियाशील पब्लिक फिटनेस सेन्टर, वीरगञ्जले आफ्नो ८ औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जमै रहेको क्लबको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय नेतादेखि समाजसेवी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, खेलप्रेमी तथा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य अतिथि प्रदेश सभा सदस्य श्याम पटेल रहेका थिए भने क्लबका अध्यक्ष करण यादवले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा नेपाल ईनोभेटिभ सोसाइटी, पर्साका अध्यक्ष कमल चौलागाईं, समाजसेवी नुतन सरावगी, नेपाली कांग्रेस वीरगञ्जका नगर अध्यक्ष मनु नेपाली लगायत अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
स्वास्थ्यमा जागरण, सरकारप्रति गुनासो
मुख्य अतिथि सांसद श्याम पटेलले नियमित व्यायाम र फिटनेसलाई जीवनशैलीको हिस्सा बनाउनु स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गरे। उनले भने, “स्वस्थ शरीरमा नै स्वस्थ मन बस्छ। व्यायामले न केवल हाम्रो शरीरलाई बलियो बनाउँछ, मानसिक सन्तुलन पनि कायम राख्छ।” साथै, उनले खेलकुदको क्षेत्रमा वीरगञ्जलाई केन्द्र सरकारले निरन्तर उपेक्षा गर्दै आएको भन्दै गुनासो गरे।
“वीरगञ्जजस्तो सम्भावनायुक्त शहरलाई राज्यले हेर्ने दृष्टिकोण कहिल्यै सकारात्मक देखिएको छैन,” उनले जोड दिए, “हामीसँग खेलाडी छन्, क्षमता छ तर पूर्वाधार छैन। यो विभेद हो।”
अधिकारका लागि संघर्षको आह्वान
कार्यक्रममा बोल्दै ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौलागाईंले मधेश र वीरगञ्जप्रति राज्यको दृष्टिकोण ‘सदियौंदेखिको विभेदपूर्ण’ रहेको भन्दै अब अधिकार मागेर होइन, लडेर हासिल गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “पर्सामा तीनजना मन्त्री छन्, तर वीरगञ्जको विकासमा ठोस उपलब्धि देखिँदैन। प्रश्न उठाउनु पर्छ—के पायो वीरगञ्ज?” चौलागाईंले खेलकुदलाई मात्र नभई समग्र विकास र निर्माणमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै क्लबजस्ता संस्थाहरूले समुदायमा परिवर्तन ल्याउने शक्ति राख्ने बताए।
समाजसेवाबाट सशक्त समुदाय निर्माण
कार्यक्रममा समाजसेवी नुतन सरावगीले समाज रूपान्तरणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले फिटनेस सेन्टरले युवाहरूलाई सकारात्मक बाटोमा अगाडि बढाउन सहयोग पुर्याएको भन्दै सराहना गरिन्।
नेपाली कांग्रेस नगर अध्यक्ष मनु नेपालीले स्थानीय तहमा नागरिकहरूको सक्रियता र सहभागिताले मात्र समुदायको समुन्नति सम्भव हुने विचार राखे।
कार्यक्रम सञ्चालन र सहभागिता
कार्यक्रमको संयोजन तथा सञ्चालन शिवनाथ यादव र अनिश कान्त कुशवाहाले संयुक्त रूपमा गरेका थिए। उनीहरूले फिटनेस सेन्टरले स्थापना कालदेखि नै निरन्तर रुपमा सामाजिक गतिविधि, स्वास्थ्य सचेतना तथा युवाको सशक्तिकरणमा योगदान दिँदै आएको उल्लेख गरे।
कार्यक्रममा सञ्चारकर्मी, सामाजिक अभियन्ता, खेलप्रेमी, स्थानीय बासिन्दा र क्लबका दर्जनौं सदस्यहरू सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथिहरूलाई सम्मानसमेत गरिएको थियो।
फिटनेस सेन्टरको भूमिकाको प्रशंसा
स्थापना कालदेखि नै समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउने, नियमित व्यायाम संस्कृति स्थापित गर्ने, र युवाहरूलाई नशा तथा विकृतिबाट टाढा राख्न पब्लिक फिटनेस सेन्टरको प्रयास उल्लेखनीय रहँदै आएको छ। कार्यक्रमले संस्थाको सामाजिक दायित्वप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको सहभागीहरूले बताएका छन्।

















