अभिलाष गुप्ता
जेष्ठ १९ बिरगंज
जिल्ला मकवानपुरको थाहा नगरपालिका–३ थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डमा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको विशेष प्रहरी टोलीले लागू औषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा सवारी चेकजाँच गर्ने क्रममा डाँडाबासतर्फबाट काठमाडौं जाँदै गरेको बा.५ च ४४११ नम्बरको टाटा सुमो गाडीलाई नियन्त्रणमा लिएको थियो।
उक्त सुमो गाडीमा सवार रहेका चालक गोरखा जिल्ला पालुङटार नगरपालिका–१० मिरकोट स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा डेरा गरी बस्दै आएका २८ वर्षीय मधुसूदन अधिकारी र सवारीमा सँगै रहेका सिन्धुली जिल्ला दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाडौं डल्लुमा डेरा गरी बस्दै आएका २५ वर्षीय नवराज खड्कालाई शंका लागि चेकजाँच गरिएको थियो।
चेकजाँचको क्रममा गाडीभित्र लुकाई ल्याइएको अवस्थामा ८० किलो १२० ग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागू औषधसहित सुमो गाडीसमेत बरामद गरी दुवैजनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट लागू औषध कसुरमा १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

















